images
images

चैते धान विस्तार कार्यक्रमः  मन्त्री फेरिएपछि अर्थमा फाइल अड्कियो, योजना लागू भएन

चैते धान विस्तार कार्यक्रमः  मन्त्री फेरिएपछि अर्थमा फाइल अड्कियो, योजना लागू भएन

अर्थ मन्त्रालयमा फाइल पठाएको भए पनि अर्थले स्वीकृति दिन ढिलाइ गरेपछि योजना लागु हुन सकेन

मंगलवार, फागुन २९ २०८०
मंगलवार, फागुन २९ २०८०
  • चैते धान विस्तार कार्यक्रमः  मन्त्री फेरिएपछि अर्थमा फाइल अड्कियो, योजना लागू भएन

    काठमाडौँ /  सरकारले खाद्य सुरक्षाका लागि चैते धान उत्पादन वृद्धि गर्ने योजना अघि सारेको थियो । बर्खे धानको तुलनामा चेतै धानको उत्पादन बढी हुने भएकाले सो धानको उत्पादन वृद्धि गर्ने योजना सरकारको थियो । 

    images
    images

    साथै, चालु आर्थिक बर्ष २०८०/८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री डा.प्रकाशशरण महतले भनेका थिए, “धान र आलुमा आत्मनिर्भर हुन एक सय स्थानीय तहमा धान र आलु खेती विस्तार गरिने छ । हाइब्रिड जातको धानको विकास र चैते धान खेतीको विस्तार गर्न उत्पादनमा आधारित अनुदान उपलब्ध गराइने छ ।”

     

    यता, कृषि तथा पशुपक्षी मन्त्रालयले पनि चालु आर्थिक वर्षमा २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने योजना लिएको थियो ।

    जलस्रोतको उच्चतम सदुपयोग हुन नसक्दा अधिकांश खेतबारी बाँझै रहेको निष्कर्ष निकाल्दै तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदुराम भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको सहकार्यमा सिँचाइ सुविधा विस्तार गरी चैतेधान उत्पादन हुने जमीनको क्षेत्रफल बढाउने योजना अघि सारेका थिए । तर, भुसालको मन्त्री पद गएसँगै क्षेत्रफल विस्तारको योजना पनि असफल भएको छ ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता तथा सहसचिव सवनम सिवाकोटी आर्यालले उक्त योजना चालु आर्थिक बर्षको लागि मात्रै स्थगित भएको बताइन् । 

    ‘चैते धान विस्तारको कार्यक्रम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको भए पनि अर्थले स्वीकृति दिन ढिलाइ गरेपछि योजना लागु हुन सकेन,’ उनले भनिन्, ‘कुन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कसरी गर्ने, बीउ सिँचाई लगायतको तयारी भइसकेको थियो । अर्थले स्वीकृत दिन ढिलो गर्यो तर आगामी वर्षका लागि सहज हुन्छ । जसको लागि बीउ, सिँचाई लगायत तयारी गर्दै छौँ ।’अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक लाख चार हजार ७१२ हेक्टर जमिनमा चैते धान खेती लगाइएको थियो । 

    चैते धान उत्पादन कार्यक्रमका लागि करिब ३० करोड रुपैयाँ अर्थ हुने कृषि मन्त्रालयले अनुमान गरेको थियो । आर्थिक संकटका कारण मन्त्रालयले उक्त रकम दिन नसक्दा कार्यक्रम नै स्थगित भएको मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले बताए । 

    उनले आगामी वर्षमा चैते धानको विकास र विस्तारका लागि १८ हजार हेक्टर जमिनमा ठूला सिँचाइ आयोजनासँग समन्वय गरी सिँचाइ सुविधा पुर्याउने बताए । उनका अनुसार चैते धान उत्पादन गर्दा किसानलाई बिउ उपलब्ध हुने, बिउ किन्नु परेमा ५० प्रतिशत अनुदान दिइने व्यवस्था गरिएको छ । 

    त्यस्तै सिँचाइ सुविधा पनि दिन कृषि मन्त्रालयले तयारी थालेको  उनको भनाई छ । ‘साना सिँचाइ योजनाअन्तर्गत स्यालो ट्युबेल आवश्यक परेमा त्यो पनि ५० प्रतिशतमा किसानलाई उपलब्ध गराउने छौं,’ उनले भने, ‘रोपाइँका लागि मेसिनहरु आवश्यक परेमा मेसिनहरु पनि ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइने छ ।’

    उनले यस बर्ष यो कार्यक्रम स्थगित भएपनि आउँदो वर्षको नीति तथा कार्यक्रममा चैतेधान विस्तारको कार्यक्रम समावेश गर्न अर्थ मन्त्रालयलाई सुझाव दिइसकेको बताए ।

    चैते धानको उत्पादकत्व हाल रहेको प्रतिहेक्टर ४.९७ मेट्रिक टनलाई छ मेट्रिक टन र्पुयाउने लक्ष्य रहेको छ । हाल चैते धानको उत्पादकत्व हाल प्रतिहेक्टर ४.९७ मेट्रिक टन छ भने बर्खे धानको प्रतिहेक्टर ३.९० रहेको छ ।

    २१ फागुनसम्म २ लाख ७७ हजार टन मल आयात

    चालु आव २१ फागुनसम्मको तथ्यांक हेर्ने हो भने मन्त्रालयले २ लाख ७७ हजार ७ सय ९३ टन मल आयात गरिसकेको छ । जसमा कृषि सामग्री कम्पनीले १ लाख ५३ हजार ६ सय ६४ र साल्ट ट्रेडिङ कर्पोरेसनले १ लाख २४ हजार १ सय २८ टन ल्याएका छन् ।

    सबैभन्दा धेरै युरिया मल आयात भएको छ । कृषि सामग्रीबाट ९९ हजार ३ सय ८६ र साल्ट ट्रेडिङबाट ६९ हजार ४ सय १० गरी कुल १ लाख ६८ हजार ७ सय ९७ टन मल आएको हो ।

    यस्तै डीएपी मल कृषि सामग्रीले ५० हजार ७ सय ६० र साल्ट ट्रेडिङले ४७ हजार १ सय ५ गरी ९७ हजार ८ सय ६५ टन डीएपी मल आयात भएको छ ।

    त्यसेगरी, पोटास मल ११ हजार १ सय २९ टन आयात भएको छ जसमा कृषि सामग्रीले ३ हजार ५ सय १७  र  साल्ट ट्रेडिङले ७ हजार ६ सय १२ टन ल्याएको छ । मन्त्रालयका अनुसार चालु आव अघि ७० हजार ८३० टन सहित ३ लाख ४८ हजार ६२३ टन मल मौज्दात थियो ।

    कति हुन्छ उत्पादन ? 

    नेपालमा मूख्य गरी धान बाली दुई सिजनमा लगाउने गरिन्छ । एक चैते र अर्को बर्खे । चालु आर्थिक वर्ष २०८०÷८१ मा १ लाख ४ हजार हेक्टर क्षेत्रफलमा चैते धान बाली लगाइएको मन्त्रालयले उल्लेख गरेको छ । 

    तर, सरकारी तथ्याङ्क अनुसार केही बर्ष यता चैते धान खेती हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको देखाएको छ । मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा १४ लाख हेक्टरभन्दा बढी जमीनमा धान खेती गरिन्छ । 

    जसमा आर्थिक वर्ष २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमिनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको थियो । 

    यस्तै, आर्थिक बर्ष २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । त्यस वर्ष चैते धानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ मेट्रिक टन कायम भएको छ । 

    त्यसैगरी आर्थिक बर्ष २०८०/ ८१ मा चैतेधानको क्षेत्रफल घट्दै १ लाख ४ हजार ७ सय १२ हेक्टरमा सीमित भएको छ । साथै यस वर्ष उत्पादन पनि घटेर ५ लाख २० हजार ८ सय ८ मेट्रिक टनमा सीमित भएको छ ।

    तर, सम्रगमा यस बर्ष धान रोपाई गरिएको क्षेत्रफल घटेपनि उत्पादन भने बडेको तथयाङ्कमा उल्लेख छ । मन्त्रालयको अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष ४.३३ प्रतिशतले धान उत्पादन वृद्धि भएको छ भने कुल धानबाली भित्र्याइएको क्षेत्रफल गत आर्थिक वर्षको तुलनामा ०.६१ प्रतिशतले कम भएको जनाएको हो । 

    यो वर्ष देशभर ५७ लाख २४ हजार २३४ मेक्ट्रिक टन धान उत्पादन भएको छ । यो पछिल्लो चार वर्षको औसत उत्पादनको तुलनामा ५.०८ प्रतिशत र गत आव २०७९/८० को तुलनामा ४.३३ प्रतिशत धेरै हो । गत वर्ष देशभर ५४ लाख ४७ हजार टन धान उत्पादन भएको थियो ।

    यस बर्षमा धान उत्पादन र उत्पादकत्व बृद्धि हुनुमा उन्नत जातको बिउको उपलब्धता र त्यसको प्रयोग प्रमुख कारण भएको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयको अनुसार रोग किराको प्रकोपमा कमी, बाढी पहिरोबाट पर्ने नकारात्मक असरमा कमी, मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोग र मौसमी अनुकूलतालाई मुख्य आधार मानिएको छ ।

    यस्तै, मधेश प्रदेशका केही जिल्लाहरूमा भने धान रोप्ने समयमा पर्याप्त वर्षा नभएका कारण उत्पादन र उत्पादकत्वमा ह्रास आएको मन्त्रालयले उल्लेख गरेको छ । नेपालको प्रमुख कृषि बाली धानको उत्पादन बढ्दा यसले समग्र अर्थतन्त्रको आकार वृद्धिमा ठूलो सहयोग र्पुयाउँछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार