images
images

किन बढिरहेको सुनको भाउ, अझै कति पुग्ला ?

किन बढिरहेको सुनको भाउ, अझै कति पुग्ला ?

सुनको मूल्य प्रतिऔँश ३ हजार डलरसम्म पुग्ने अनुमान

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • किन बढिरहेको सुनको भाउ, अझै कति पुग्ला ?

    काठमाडौँ / सोमबार सुनको मूल्यले यसअघिको कीर्तिमान तोड्दै नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यबृद्धि भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ ।

    images
    images

    शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ३० हजार रुपैयाँ रहेको थियो भने आइतबार स्थिर रहेको थियो । आइतबारको तुलनामा सोमबार छापावाल सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको हो ।

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँबाट बढेर १ लाख ३० हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔश २ हजार २६१ डलरमा कारोबार भइरहेको छ ।  

    किन बढ्यो मूल्य ? 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष मणी शाक्यले सुनचाँदीको मूल्य बृद्धिमा नयाँ कारण नभेटिएको बताए । यसअघि देखिएका कारणहरूले नै सुनको मूल्य बढ्न दबाव पुगेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय कमोडिटी मार्केटमा हुने माग र आपूर्तिले सुनको मूल्य निर्धारण हुन्छ । सुनको माग र आपूर्ति अमेरिकासहित शक्तिशाली मुलुकहरूको ब्याजदर घटबढ, ती मुलुकहरूको स्टक मार्केट घटवढ र अर्थतन्त्र चलायमान, व्यवसाय विस्तार तथा रोजगारी घटबढ र अन्तर्राष्ट्रिय द्वन्द्वले प्रभावित हुन्छ । 

    नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने भएकोले डलरको मूल्य बढ्दा वा घट्दा पनि नेपाली अर्थतन्त्र प्रभावित हुन्छ । यद्यपि, पछिल्लो समय विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेकोले डलरको मूल्य सामान्य बढेको देखिए पनि यसको भूमिका नरहेको शाक्य बताउँछन् । 

    उनका अनुसार अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सुन होल्ड गरेर राख्दा पनि मूल्यमा दबाव परिरहेको छ । 

    “विश्वव्यापी मन्दीका कारण पनि मानिसहरूले सुनमा लगानी गरिरहेका छन् । साथै, मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो,” शाक्यले भने । 

    अमेरिकी केन्द्रीय बैङ्क (फेडरल रिजर्भ बैङ्क)ले सन्दर्भ ब्याज दर घटाउने निश्चित हुनु, स्वीस बैङ्कले केही समयअघि ०.२५ प्रतिशत ब्याज दर घटाउनु र अझै ब्याज दर घटाउने चर्चाका कारण सुनमा आकर्षण बढेको उनको भनाइ छ । 

    अमेरिकाले पछिल्लो समय डलर प्रकाशित गरिरहेको भए पनि सेक्युरिटी ब्याकअप नभएको कारण ठुला मुलुकहरूले विश्वास गर्न छोडेको शाक्यले बताए । उनले भने, “केही समस्या परिहालेमा डलर कागजको खोस्टामा सीमित हुने देखिन्छ । त्यसैले ठुला मुलुकहरूले युआन, रुबलआदिमा कारोबार नभएमा सुनले पेमेन्ट गर्दा पनि हुन्छ भन्नेलगायतका कारणले पनि सुनको डिमान्ड बढिरहेको छ ।”

    त्यस्तै, उद्योगधन्दा सञ्चालनमा सुस्तता, आम्दानीमा गिरावटले क्रयशक्ति पनि घटिरहेको छ । यससँगै व्यापार र उद्योग÷कम्पनीहरूको नाफामा पनि गिरावट आएको छ । “विश्वव्यापी मन्दीका कारण अहिले उद्योगधन्दाहरूमा गरिएको लगानी सङ्कटमा छ । उनीहरूले सुनमा लगानी बढाउन थाले । सुरक्षाका लागि सुन किनेर होल्ड भइरहेको छ,” उनले भने, “विश्वमा बरोजगारहरूको तथ्याङ्क बृद्धि हुँदै गएपछि उनीहरूको क्रय शक्ति कम भयो । जसले गर्दा उद्योगहरूको व्यापारमा गिरावट आयो र सुनमा लगानी र आकर्षण बढ्यो ।”


    सुनचाँदीको माग बृद्धि हुनुमा अर्को कारण युद्धको तनाव भएको शाक्य बताउँछन् । “प्यालेस्टाइन र इजरायलको युद्ध अन्त्य भएको छैन । युक्रेन र रसियाको युद्धको असर र अमेरिका र चाइनाबिचको तनाव उस्तै छ । विश्वका धेरै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएको अवस्था छ, विभिन्न प्रक्षेपणले पनि तत्काल सुधार हुने आधार देखाएका छैनन्, त्यसले गर्दा व्यवसाय विस्तारभन्दा पनि लगानी सुरक्षाका लागि अहिले सुन धेरैको रोजाइ बनेको छ,” उनले भने ।

    कति पुग्ला मूल्य ?

    हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १.२१ प्रतिशतले बढेर प्रतिऔँस २ हजार २ सय ६१.३९ डलर कायम भएको छ । अब यो मूल्य बढेर डेढ बर्षभित्रमा ३ हजार डलर पुग्ने विश्वका अर्थशास्त्रीहरूको अनुमान रहेको शाक्यले जानकारी दिए । 

    सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ । त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।

    यदी, सुनको मूल्य प्रतिऔँश ३ हजार डलर पुगेमा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ८० हजार रुपैयाँ पर्ने शाक्यले बताए । सुनको मूल्य बढाउने कारक तत्त्वहरू तत्काल ठिक हुने अवस्थामा छैनन् । यही गतिमा नै मूल्य बढिराख्ने हो भने ६ महिनाभित्र नै नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५० हजार पुग्ने शाक्यको अनुमान छ ।

    मूल्य बृद्धि भएसँगै फाट्टफुट्ट सुन बिक्री गर्नेहरू आए पनि नयाँ खरिद गर्ने नहुँदा बजार सुनसान नै रहेको उनी बताउँछन् । मूल्य बढिरहे अधिकांश व्यवसायीहरू बहाल तिर्ने, कर्मचारीहरूलाई तलब खुवाउने अवस्थामा पनि नहुने र पलायन हुने अवस्थामा पुग्ने शाक्यको चिन्ता छ । 

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ ।

    अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।
    चालु आर्थिक बर्षको फागुन मसान्तसम्म १६ अर्ब १२ करोड २५ लाख रुपैयाँ बराबरको सुन आयात भएको छ भने यसवापत २ अर्ब ४१ करोड ८४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भन्सार विभागको तथ्याङ्क छ । 


    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार