दुर्गा प्रसाईँका कार्यकर्ताले बिर्तामोडमा रहेका दुई बैंकको शाखामा तोडफोड गरेका छन् ।
प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित र्यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका हुन् ।
र्यालीमा सहभागी केही युवाको समूहले बिर्तामोडको एभरेष्ट बैंक र ज्योती विकास बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हुन् ।जसमध्ये ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएकामा बिर्तामोड नगरपालिका–५ का अन्जेश राई, बिर्तामोड नगरपालिका–३ का मनकुमार तामाङ, बुद्वशान्ती गाउँपालिका–४ का दीपेश राई र पवन दुलाल छन् । बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू र्याली मुक्तिचोकतर्फ जाँदै गर्दा सोही समूहका १२÷१५ जनाले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेका हुन् । बैंकको सिसाहरू फुटाउँदै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।