images
images

निर्यात व्यपार प्रोत्साहन : सरकारको अनुदान बढेपनि किन बढेन निर्यात ?

निर्यात व्यपार प्रोत्साहन : सरकारको अनुदान बढेपनि किन बढेन निर्यात ?

अनुदान बढेपनि सोहि अनुसार बढेन निर्यात ! सरकारले अनुदान रकम बढाएको अवस्थामा एकातिर निर्यात बढेको छैन भने अर्कोतिर उपलब्ध अनुदान समेत पूर्णरुपमा प्रयोग हुन सकेको छैन

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • निर्यात व्यपार प्रोत्साहन : सरकारको अनुदान बढेपनि किन बढेन निर्यात ?

    काठमाडौँ / मुलुकको निर्यात व्यापारलाई प्रोत्साहन गर्ने भन्दै सरकारले नगद अनुदान बढाउँदै लगे पनि सोहि अनुसार निर्यात भने बढ्न सकेको छैन । 

    images
    images

    निर्यात व्यपारलाई प्रोत्साहनस्वरूप ल्याइएको निर्यात नगद अनुदानमा वितरण गरिने रकमको संख्या वार्षिकरूपमा बढ्दै गएको छ, जसलाई निर्यात व्यापारको एउटा सफल सूचक हो भन्न सकिन्छ । तर, पनि सरकारले अनुदान रकम बढाएको अवस्थामा एकातिर निर्यात बढेको छैन भने अर्कोतिर उपलब्ध अनुदान समेत पूर्णरुपमा प्रयोग हुन सकेको छैन । 

    सरकारले स्वदेशी वस्तु तथा सेवा निर्यात गरेका निकासीकर्तालाई आर्थिक वर्ष २०६९/७० देखि चालू आव २०८०/८१ को पहिलो चौमासिकसम्ममा ७ अर्ब २० करोड ८५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । जसअनुसार विभागले चालु आर्थिक बर्षको कात्तिकसम्ममा करिब ९० करोड रुपैयाँ बराबर अनुदान वितरण गरेको छ । यस्तै, गत आर्थिक बर्ष २०७९/८० मा १ अर्ब रुपैयाँ अनुदान वितरण गरेको थियो । 

    सरकारले आर्थिक वर्ष २०६८/६९ देखि निर्यात नगद प्रोत्साहन अनुदान उपलब्ध गराउन सुरु गरेको थियो । अनुदान उपलब्ध गराउन सुरु गरिएको अघिल्लो आर्थिक वर्ष २०६७/६८ मा मुलुकबाट कुल ७४ अर्ब आठ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तर, सबैभन्दा धेरै अनुदान उपलब्ध गराइएको आर्थिक वर्ष २०७८/७९ मा भने निर्यात २ खर्ब ३ करोड ९ लाख ६१ हजार रुपैयाँ मात्रै रहेको छ । उक्त आर्थिक बर्ष निकासीकर्ताले १ अर्ब ४२ करोड ८५ लाख रुपैयाँ अनुदान पाएका थिए । 

    निर्यात अनुदान उपलब्ध गराउन सुरु गरेको करिब एक दशक (११ बर्ष) पुरा हुदासम्म पनि निर्यात बढ्न सकेको देखिँदैन । नगद अनुदान प्राप्त गर्ने व्यवसायीको संख्या बढे पनि नगद प्रोत्साहन अनुदानबाट कुल निर्यातमा सकारात्मक प्रभाव पर्न भने सकेको छैन । तर, सरकारले निर्यातलाई प्रोत्साहन गर्न सम्बद्ध व्यवसायीलाई अनुदान दिने गरे पनि अनुदान पाउन सहज नभएको निर्यातकर्ताहरू बताउँछन् ।

    नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा तयारी पोशाक पर्छ । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले निर्यातमा उपलब्ध गराउँदै आएको नगद अनुदान लिन प्रक्रिया झन्झट हुँदा अनुदान लिन कठिन भएको बताए । 

    ‘सरकारले निर्यातमा दिँदै आएको अनुदानले व्यवसायीको आत्मविश्वास बढाए पनि परिणाममा ठूलो अन्तर भने देखिएको छैन’, उनले भने, अनुदान लिने प्रक्रिया निकै झन्झट छ, तै माथि समयमा अनुदान नपाउदा निर्यातकर्ताले विभिन्न समस्याको सामना गर्नुपर्दछ ।’

    अनुदान बढे पनि बढेन निर्यात

    भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारले निर्यातकर्तालाई दिने नगद अनुदान हरेक बर्ष बढ्दै गएता पनि सोहिअनुसार निर्यात भने बढ्न नसकेको पुष्टि गरेको छ । विभागको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०६९/७० मा ७७ अर्ब ४० करोड २२ लाख ६५ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात भएको थियो । उक्त बर्षमा निर्यातकर्ताहरूले ३ करोड ३७ लाख रुपैयाँ अनुदान पाएका थिए ।

    यस्तै, आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकमा निर्यात हुँदा निर्यातकर्ताहरूले १ अर्ब रुपैयाँ अनुदान पाएका थिए । आ.व २०७८/७९ मा दुुई खर्ब ३० करोड ९६ लाख रुपैयाँको निर्यात हुँदा एक अर्ब ४२ करोड ८५ लाख रुपैयाँ अनुदान वितरण गरिएको उद्योग विभागले जनाएको छ । 

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्द कार्र्कीले सरकारले निर्यातकर्ताहरूलाई नगद अनुदान दिए पनि सबै वस्तुको निर्यात वृद्धि नभएको बताएका छन् । ‘अनुदान दिए पनि पर्याप्त उत्पादन हुन नसक्दा निर्यात बढ्न सकेको छैन’, उनले भने, ‘अनुदानले उत्पादन लागत कम भई निर्यातमा सामान्य वृद्धि भए पनि जति निर्यात बढ्नुपर्ने थियो, त्यति बढ्न सकेको छैन । ’

    ११ बर्षमा दिइएको निर्यात अनुदान तथा निर्यात रकम 

    1.JPG

    नेपालबाट निर्यात हुने कुन–कुन वस्तुले पाउछन् नगद अनुदान ?

    हाल नेपालबाट निर्यात हुने ३६ प्रकारका सामग्रीमा निर्यात नगद अनुदान पाउँछन् । ती सामग्रीहरूमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज तथा त्यसबाट उत्पादित सामान, प्रशोधित जडीबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवाले नगद अनुदान पाउँछन् ।

    यस्तै, स्वदेशमा उत्पादित कपडा, तयारी पोशाक, गलैंचा र ऊनीका सामान, च्यांग्रा पश्मिना तथा त्यसबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्धप्रशोधित छाला, औषधि, फेल्ट, पोलिस्टर–यार्न–फाइवर भिस्कोस यार्न–एक्रेलिक यार्न–कटन यार्न, तामाका सामान र फुटवेयरले पनि अनुदान पाइरहेका छन् । 

    सरकारले गत वर्ष निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७९ दोस्रो संशोधन गर्दै अनुदान प्राप्त गर्ने सामग्रीहरूको विवरण थप गरेको थियो । यो वर्षदेखि सिमेन्ट, क्लिंकर, स्टील निकासीकर्तालाई पनि अनुदान दिने नीति सरकारको छ । पछिल्लो समय सिमेन्टको निकासी बढ्नुलाई नगद अनुदानसँग जोडेर हेरिएको छ । 

    निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७९ दोस्रो संशोधनअनुरूप निर्यात नगद अनुदान छुट पाउने सामग्रीहरूमा हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चापदार्थको रूपमा प्रयोग हुने समेत) र काष्ठकलाका वस्तु, प्रशोधित तथा अर्धप्रशोधित जडीबुटी (यार्सागुम्बा समेत) तथा सारयुक्त तेल, प्रशोधित तथा अर्धप्रशोधित बेसार, ताजा तरकारी (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), पुष्प (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा), प्रशोधित तथा अर्धप्रशोधित अलैँची र प्रशोधित तथा अर्धप्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत) दुग्धजन्य पदार्थ, फलफूल (परिवत्र्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा) र अम्रिसोलगायतमा सामग्री छन् । 

    त्यस्तै, कुनै उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यको आधारमा बढीमा आठ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने भएको छ । साथै वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत र ७० प्रतिशत मूल्य अभिवृद्धि गरी वस्तु निर्यात गरेमा कुल निर्यात मूल्यको एक प्रतिशतले हुनआउने थप रकम अनुदानबापत प्राप्त गर्न सक्नेछन् । यसअघि तीन प्रतिशत नगद अनुदानको व्यवस्था गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार