images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनावी उम्मेदवारीबाट रोकियो - पार्टी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनावी उम्मेदवारीबाट रोकियो - पार्टी

सोमवार, पुस १६ २०८०
सोमवार, पुस १६ २०८०
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई चुनावी उम्मेदवारीबाट रोकियो - पार्टी
    कारागारमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनका अधिकांश समर्थकहरूलाई आगामी फेब्रुअरी ८ मा हुने निर्वाचनका लागि उम्मेदवारका रूपमा अस्वीकार गरिएको छ । 
     
    पार्टीका अधिकारीहरूले आइतबार मतपत्रका लागि मनोनयन बन्द भएपछि सो कुरा बताएका हुन् । पूर्वप्रधानमन्त्री अगस्टदेखि कारागारमा छन् र उनले धेरै मामिलामा मुद्दाको सामना गरिरहेका छन् । 
     
    उनले आफ्नो पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई) पार्टीको प्रमुखका रूपमा निर्वाचन लड्नबाट रोक्नका लागि षड्यन्त्र गरिएको बताएका हुन् ।
     
    पूर्वक्रिकेट स्टार खानलाई यस वर्षको सुरुमा भ्रष्टाचारमा दोषी पाइएको थियो तर एक अदालतले उनको तीन वर्षको सजायलाई निलम्बित गरिदिएको छ र अभियोगविरुद्ध पुनरावेदन भइरहेको छ । 
     
    पाकिस्तानको निर्वाचन आयोग (इपिसी)ले दोषी ठहर भएपछि उनलाई पदबाट अयोग्य घोषणा गरेको छ तर पिटिआईले त्यसको बेवास्ता गर्दै खानका लागि उम्मेदवारी दर्ता गर्यो ।
     
    पिटिआईका प्रवक्ता रउफ हसनले भने, “इमरान खानसहित पिटिआईका करिब सबै राष्ट्रिय तथा प्रान्तीय नेताहरूको उम्मेदवारी अस्वीकार गरिएको छ, हाम्रा ९० देखि ९५ प्रतिशत उम्मेदवारको कागजपत्र रद्द भएको छ ।”
     
    उनले पिटिआईलाई छ सातामा हुने निर्वाचनमा लड्नबाट रोक्नका लागि ‘एजेन्डा’ अन्तर्गत रोक्ने काम भइरहेको बताए । 
     
    “यसका लागि सबै रणनीति अपनाइएको छ तर हामी कुनै पनि हालतमा राजनीतिक मैदान छाड्ने छैनौँ र निर्वाचन बहिष्कार पनि गर्दैनौँ ।”
     
    निर्वाचन आयोगका एक अधिकारीले खानसहित पिटिआईका विभिन्न उम्मेदवारहरूलाई उनीहरूको सजायका आधारमा उम्मेदवारी खारेज गरिएको पुष्टि गरेका छन् । 
     
    राजनीतिक विश्लेषक हसन अस्कारीले कुनै एक पार्टीविरुद्ध यति व्यापक कारवाही पाकिस्तानमा ‘अभूतपूर्व’ रहेको बताए । 
     
    “मुलुकको इतिहासमा कुनै राजनीतिक दल निर्वाचनअघि यति ठूलो मात्रामा निर्वाचन प्रक्रियाबाट बाहिरिएको यो पहिलो पटक हो”, उनले भने, “राज्य संस्थाहरू पिटिआईलाई कुनै पनि हालतमा निर्वाचन लड्नबाट रोक्न चाहन्छन् र पिटिआईले राहत पाउने सम्भावना अत्यन्त कम छ ।”
     
    निर्वाचन आयोगले जनवरी २३ मा उम्मेदवारहरूको अन्तिम नामावली घोषणा गर्दैछ । पिटिआईले उसलाई मतदान प्रक्रियाबाट बाहिर पारिएको दाबी गर्दै यसबाट निर्वाचन आयोग र विभिन्न अदालतमा पुनरावेदन गर्ने सम्भावना कम छ । 
     
    पिटिआईका प्रवक्ता हसनले भने, “हामी निर्वाचनमा रहने छौँ, प्रत्येक निर्वाचन क्षेत्रमा यी सबै फैसलाविरुद्ध पुनरावेदन दर्ता गर्नेछौँ र आफ्ना सबै संवैधानिक, कानूनी र राजनीतिक विकल्पहरू प्रयोग गर्नेछौँ ।”
     
    एकहत्तर वर्षीय खानलाई सन् २०१८ मा सत्तामा समर्थन गर्ने पाकिस्तानको शक्तिशाली सैन्य नेताहरूसँगको मतभेदपछि गत वर्ष अपदस्थ गरिएको थियो ।
     
    विरोधमा उनले मुलुकको अधिकांश इतिहासमा प्रत्यक्ष शासन गर्ने सैन्य प्रतिष्ठानविरुद्ध अवज्ञाको अभूतपूर्व अभियान चलाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार