काठमाडौँ / नेपाल वायुसेवा निगमको काठमाडौंबाट दोहो उडेको एउटा वाइडबडी जहाजको हाइड्रोलिकमा समस्या देखिएपछि ४० मिनेट उडेर काठमाडौँ नै फर्किएको छ ।
बिहीबार राति निगमको वाइडबडी काठमाडौंबाट ७० नटिकल माइल (करिब १३० किलोमिटर) उडेपछि हाइड्रोलिकमा समस्या देखिएको थियो ।
काठमाडौँबाट दोहा उडेको ए३३०–२०० नामक ९ एन एनएलवाई कलसाइनको जहाज बीचबाटोबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो ।
निगम प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार अल्फा लिमा यंकी (अन्नपूर्ण) को हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि चालकदलले १२ बजे राति उडेको वाइडबडीलाई काठमाडौँनै फर्काएका थिए ।
आरए–२३९ उडान नम्बरको उक्त विमानबाट दोहा जाने २ सय ६५ यात्रुलाई राति ३ बजे निगमको अर्को वाइडबी अल्फा लिमा जुलु (मकालु) जहाजमा पठाइएको थियो । मकालुको शुक्रबार बिहान ८ बजे र दिउँसो १ः४५ बजे हुने दुवै उडानलाई मर्ज गरिएको दिल्ली उडान गर्ने तालिका थियो ।
पुनका अनुसार प्राविधिक समस्या देखिएको जहाजको काठमाडौँमा मर्मत हुँदैछ । ‘केही घन्टामा जहाज रिलिज हुने छ,’ उनले भने,‘त्यो जहाजले दिउँसो १ः४५ को निर्धारित दिल्ली उडान गर्ने छ ।’