काठमाडौँ / पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुन थुनामुक्त भएका छन् । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनी शुक्रबार धरौटीमा रिहा भए पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को निगरानीमा रहेका छन् ।
जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले जानकारी दिए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिए पनि रकम जम्मा नगरेपछि उनी पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, शुक्रबार उनले रकम जम्मा गरेपछि छुटेका हुन् ।
पुनबारे प्रहरीको केन्द्रीय सिआइबीले अनुसन्धान गरिरहेको छ । तर, उनीविरुद्ध पक्राउ पूर्जी जारी नभएकाले तत्काल नियन्त्रणमा नलिइएको सिआइबीको दाबी छ ।