images
images

कात्तिकको तुलनामा १६ हजारले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब राजस्व सङ्कलन

कात्तिकको तुलनामा १६ हजारले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब राजस्व सङ्कलन

कात्तिकको तुलनामा घरजग्गाको कारोबार ६० प्रतिशत बढेपनि अपेक्षा गरेअनुसार कारोबार बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् ।

आइतवार, पुस १ २०८०
आइतवार, पुस १ २०८०
  • कात्तिकको तुलनामा १६ हजारले बढ्यो घरजग्गा कारोबार, ३ अर्ब राजस्व सङ्कलन

    काठमाडौँ / मंसिरमा देशभरका मालपोत कार्यालयहरुबाट ४१ हजार ८ सय ५१ घरजग्गा किनबेच भएका छन्। यो अघिल्लो महिना (कात्तिक) को तुलनामा ६० प्रतिशतले बढी हो। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार कात्तिकमा २६ हजार ४६ को संख्यामा मात्रै घरजग्गा किनबेच भएको थियो । 

    images
    images

    विभागको तथ्याङ्क अनुसार सरकारले घरजग्गाको कारोबारमा सहज निति अपनाउँदा पनि कारोबार भने बढ्न नसकेको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत घरजग्गा क्षेत्रलाई चलायमान बनाउन सहज नीति अपनाउँदा पनि अपेक्षाकृत रुपमा कारोबार बढ्न नसकेको व्यवसायीहरूले बताएका छन् । 

    राष्ट्र बैंकले घरजग्गा कारोबारलाई सहज बनाउन मौद्रिक नीतिमार्फत् कर्जाको सीमा बढाएको थियो । राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्म पाउने कर्जाको सीमा बढाएर २ करोड पुर्याएको थियो । यस्तो व्यवस्था गरे पनि कारोबारमा खासै प्रभाव नपरेको तथ्याङ्कले देखाउँछ ।

    विभागको तथ्याङ्क अनुसार कात्तिकको तुलनामा मंसिर महिनामा कारोबारमा सामान्य वृद्धि भएको देखाएको छ । तर, व्यवसायीहरुले अपेक्षा गरेअनुसार भने कारोबार हुन सकेको छैन । 

    सरकारले विभिन्न चरणमा घरजग्गा कारोबारमा केही सहज नीति अपनाएसँगै व्यवसायीहरुले मंसिर महिनापछि कारोबार बढ्ने बताउँदै आएका थिए । जग्गा तथा आवास विकास महासंघका (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीका अनुसार मंसिरमा व्यवसायीहरुले अपेक्षा गरेअनुसार कारोबार बढ्न नसकेको बताएका छन् ।

    “कात्तिकको तुलनामा मंसिरमा कारोबार बढेपनि   सकेको छैन,” उनले भने, “बजारमा अझै पनि मानिसहरूले लगानी गर्ने विश्वासको वातावरण भने सिर्जन हुन सकेको छैन ।”

    बैंकको ब्याजदर, लगानी गर्ने आँट र खरिदकर्ता नभेट्नुले घरजग्गा कारोबारलाई निरन्तर सिथिल बनिरहेको उनी बताउँछन् । कात्तिकको तुलनामा मंसिरमा ह्वात्तै घरजग्गा बढेपनि असोजको तुलनामा भने दुई हजारको संख्यामा मात्रै घरजग्गा कारोबार बढेको छ। असोजमा देशभर ३९ हजार ८ सय ८१ संख्यामा घरजग्गा भएको थियो। 

    घरजग्गा कारोबार चलायमान नबन्दा देशको समग्र अर्थतन्त्र नै संकुचित भएको भन्दै सरकारले तीन महिनाअघि कित्ताकाट खुलाउने निर्णय गरेको थियो। कित्ताकाट खुलाए पनि बजार अझै तयार नहुँदा घरजग्गा कारोबार लयमा फर्किन सकेको छैन।

    घरजग्गाको कारोबारलाई दीर्घकालिन रूपमा सुधार गर्नको लागि ल्याण्डमार्कट र ल्याण्ड पुलिङ्गको कन्सेप्ट लागू गर्नेपर्ने अध्यक्ष लोहनीले बताए । यसले घरजग्गाको कारोबारलाई व्यवस्थित गर्ने, व्यवस्थित सहरीकरणलाई सहयोग पुर्याउनेछ । यसले कारोबारमा एकरुपता ल्याउने उनको भनाइ छ ।

    उनी भन्छन्, “कारोबारमा एकरुपता ल्याउन, जसरी सेयरको कारोबार पारदर्शी रूपमा हुन्छ त्यस्तै घरजग्गाको कारोबारलाई पनि पारदर्शी बनाउन, ब्रोकर हुन लाइसेन्स आवश्यक पर्ने व्यवस्था जस्तै घर जग्गामा पनि बिक्री गर्न लाइसेन्स बनाउनु पर्ने जस्तो व्यवस्थाका लागि हामीले ल्याण्डमार्कटको कन्सेप्ट लागु गर्नुपर्छ भनेका हौँ ।”

    घर जग्गाको विषयमा सरकारी मूल्य र बजारले तोकेको मूल्यमा फराकिलो अन्तर छ । किनबेच हुँदा बजार मूल्य अनुसार हुने भए पनि मालपोतमा रजिस्ट्रेसन गर्दा भने सरकारी मूल्य नै देखाइने गरिन्छ । यसले गर्दा सरकारले रजिस्ट्रेसन शुल्क र पुँजीगत लाभकर दुबै गुमाइरहेको छ । घरजग्गाको कारोबार ल्याण्ड मार्केटबाट गर्दा सरकार र व्यवसायी दुवैलाई फाइदा पुग्ने अध्यक्ष लोहनी बताउँछन् । यसले सरकारको राजस्वसमेत वृद्धि हुने उनको भनाइ छ । 

    ल्यान्ड मार्केट घरजग्गा कारोबारलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) जस्तै व्यवस्थित गर्ने एक अवधारणा हो। यसले घरजग्गा व्यक्ति–व्यक्तिबाट खरिद बिक्री नभई सार्वजनिक रूपबाट खरिद बिक्री गरी कारोबार पारदर्शी बनाउन सकिने उनले बताए । 

    अध्यक्ष लोहनीका अनुसार घरजग्गा कारोबारलाई अझै चलायमान बनाउनका लागि राष्ट्र बैंकले लोन टु भ्यालु रेसियो वृद्धि गर्ने र होम लोनको इएमआई खुकुलो बनाउनुपर्छ । लोन टु भ्यालु रेसियो अहिले ६० प्रतिशतसम्म कायम रहेकोमा यसलाई बढाएर ७० प्रतिशतसम्म पुर्याउनुपर्ने व्यवसायीहरूको माग छ ।

    त्यस्तै, होम लोनमा ईएमआईलाई आम्दानीको स्रोतको २ सय प्रतिशतबराबरको स्रोत देखाउनुपर्ने व्यवस्था छ । सो व्यवस्था सय प्रतिशतमा कायम गर्नुपर्ने व्यवसायीहरूको बताउँदै आएका छन् ।

    असोजको तुलनामा ४२ प्रतिशतले घट्यो राजस्व सङ्कलन ! 

    असोजको तुलनामा भने घरजग्गाको कारोबार बढेपनि राजश्व भने ४२ प्रतिशतले घटेको देखिन्छ। असोजमा सरकारलाई घरजग्गा कारोबारबाट चार अर्ब राजश्व संकलन गरेको थियो । तर, मंसिरमा देशभरको मालपोत कार्यालयहरूले २ अर्ब ८६ करोड ६० लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । 

    यस्तै, कात्तिकको तुलनामा भने राजश्व पनि ३२ प्रतिशतले बढेको देखिन्छ। कात्तिकमा २ अर्ब १६ करोड रुपैयाँमा राजस्व सीमित भएको थियो। 

    सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ। त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ।

    मंसिरमा सरकारले सेवाकरवापत २२ करोड ३१ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरवापत १ अर्ब ९५ करोड ८० लाख रुपैयाँ कर उठाएको छ । देशभरका मालपोत कार्यालयहरुले मंसिरमा पुँजीगत लाभरवापत ९६ करोड ४५ लाख ४ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कवापत २ करोड ९० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    मंसिरमा सबैभन्दा धेरै राजस्व उठाउनेमा लगनखेल मालपोत कार्यालय छ। मंसिरमा लगनखेल मालपोत कार्यालयले २८ करोड ११ लाख  २१ हजार रुपैयाँ राजस्व उठाएको छ। यस्तै, डिल्लीबजार मालपोत कार्यालयबाट १८ करोड १० लाख ३५ हजार रुपैयाँ, भक्तपुर मालपोत कार्यालयबाट १७ करोड ८७ लाख २९ हजार रुपैयाँ र कलंकीबाट १६ करोड ७६ लाख ३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    काठमाडौँमा कहाँ कति भयो किनबेच ?

    काठमाडौँमा ६ वटा मालपोत कार्यालय छन्ः कलंकी, चाबहिल, डिल्लीबजार, मनमैजु, टोखा र साँखु। यी कार्यालयहरूलाई भौगोलिक आधारमा निश्चित ठाउँहरू तोकिएको छ । ती ठाउँका जग्गासम्बन्धी सबै काम तिनै कार्यालयले गर्छन्।

    काठमाडौँमा भएको कारोबारमध्ये सबैभन्दा बढी कलंकी मालपोत कार्यालयबाट छ। कलंकी कार्यालयबाट मंसिरमा ५ सय ८८ संख्यामा घरजग्गा कारोबार भएको छ । यस कार्यालयको क्षेत्राधिकारभित्र काठमाडौँ महानगरपालिकाको वडा नम्बर १३, १४ र १५, कीर्तिपुर, चन्द्रागिरी, दक्षिणकाली र नागार्जुन नगरपालिका पर्छन् ।

    दोस्रो ठूलो कारोबार गर्नेमा साँखु मालपोत कार्यालय छ। यस कार्यालयबाट यस कार्यालयबाट मंसिरमा ३ सय ७० संख्यामा घरजग्गा कारोबार भएको छ। यसको कार्यक्षेत्र बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र मनोहरा नगरपालिका हुन् । 

    त्यस्तै, तेस्रोमा चाबहिल मालपोत कार्यालय हो । यस कार्यालयबाट मंसिरमा ३ सय ५१ संख्यामा कारोबार भएको छ। आलापोट, इन्द्रायणी, गागलफेदी, डाँछी, सुन्दरीजल लगायतका क्षेत्र यसका कार्यक्षेत्र हुन्। यता, डिल्लीबजार कार्यालयबाट एक सय ८१ संख्यामा घरजग्गा किनबेच भएको छ। यस कार्यालयले काठमाडौँ महानगरको वडा नम्बर ६, ७, १३, १४ र १५ बाहेकका सबै वडा हेर्छ । 

    यस्तै, टोखा कार्यालयबाट एक सय ४०संख्यामा घरजग्गा किनबेच भएको छ । यसले बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ६ र ७, टोखा नगरपालिका, तारकेश्वर नगरपालिका वडा नम्बर १ हेर्छ । चालु आर्थिक बर्षको मंसिरमहिनामा मनमैजु कार्यालयबाट कात्तिक महिनामा घरजग्गको कारोबार शुन्य रहेको छ । यो कार्यालयको क्षेत्र तारकेश्वर नगरपालिकाको वडा–१ साङ्लाबाहेकका सबै वडा हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार