images
images

बजार अभावमा करोडौँ लगानीको 'राजा' च्याउको उत्पादन घट्यो, निर्देशक न्यौपाने भन्छन्, - आयातमा कडाइ गर्नुपर्छ

बजार अभावमा करोडौँ लगानीको 'राजा' च्याउको उत्पादन घट्यो, निर्देशक न्यौपाने भन्छन्, - आयातमा कडाइ गर्नुपर्छ

मंगलवार, फागुन १५ २०८०
मंगलवार, फागुन १५ २०८०
  • बजार अभावमा करोडौँ लगानीको 'राजा' च्याउको उत्पादन घट्यो, निर्देशक न्यौपाने भन्छन्, - आयातमा कडाइ गर्नुपर्छ

    स्वाद, साइज र स्वास्थ्यका हिसाब उत्कृष्ट मानिएको ‘किङ्ग ओइस्टर’ (राजा) च्याउ बाह्रैमास उत्पादन गर्न सकिन्छ । पोषणले भरिपूर्ण यो च्याउ नेपालको नवलपरासी जिल्लाको नवलपुर गैंडाकोट नगरपालिकामा एनसी एग्रोटेक इन्डष्ट्रिज प्रा.लि.ले नेपालमा पहिलो पटक नयाँ  सोच नयाँ काम नयाँ नाम 'राजा च्याउ'को उत्पादन सुरु गरेको हो ।  कम्पनीका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपानेका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थबाट यो च्याउको उत्पादन गरिएको छ । 

    images
    images

    विदेशमा ठुलो प्रविधिको प्रयोग गरेर ठुलो भोल्युममा सदाबहार सजिलै उत्पादन गरेको र साइज पनि ठुलो भएको देखेपछि उनी यो च्याउखेतीतर्फ आकर्षित भए । निर्देशक न्यौपानेले चीन भ्रमणका क्रममा देखेको यो च्याउको खेती नेपालमै गर्नका लागि २०७५ सालमा उद्योग दर्ता गरेर प्रक्रिया अघि बढाए । 

    २५ करोड रुपैयाँ लगानीबाट निर्देशक न्यौपानेसहित ९ जनाले सुरु गरेको कम्पनीले प्रतिदिन ४ हजार केजी च्याउ उत्पादन गर्ने क्षमता राख्छ । लगानीसमेत बढेर अहिले ५० करोड नाघिसकेको उनी बताउँछन् ।

    व्यवसाय गरिरहेका, विदेशबाट फर्किएर स्वरोजगार भएका र विदेशमा सिप सिकेर फर्किएकाहरूको संयुक्त लगानीमा सुरु भएको कम्पनीले सुरुवाती दिनमा २५ सयदेखि ३ हजार केजीसम्म च्याउ उत्पादन गर्यो । 

    बजार साँघुरो भएपछि कम्पनीले यो च्याउको उत्पादन दैनिक १५ सयदेखि २ हजार केजीमा सीमित राखेको छ । हाल कम्पनीमा सय जनाले रोजगारी पाइरहेका छन् । कम्पनीले हाल डल्ले च्याउ, जापानिज ओइस्टर र किङ्ग ओइस्टर च्याउ उत्पादन गरिरहेको छ ।

    कम्पनीले बिशेष प्रबिधिमार्फत नेपालमा यो च्याउ उत्पादन गर्नको लागि अत्याधुनिक मेसिनसहित २ जना बिदेशी (चिनिया) नागरिकलाई करिब ३ बर्ष कामदार भिसामार्फत नेपाल ल्याएको थियो । उनीहरूले सो अवधिमा नेपाली नागरिकलाई सिकाइ प्रबिधि हस्तान्तरण गरेर फर्किसकेका छन् । 

    Dipak neupane.jpg

    बजार

    भाट्भटेनी, बिगमार्ट, सुपरमार्केटहरू, पार्टीप्यालेस, स्टार होटेल, रिर्सोट, होटल, रेस्टुरेन्ट तथा बजारमार्फत कम्पनीले च्याउ बिक्री गरिरहेको छ । यो च्याउ नेपाली बजारको लागि नयाँ छ । बजारको सम्भावना प्रशस्त भएकोले प्रोडक्ट चिनाए बजार विस्तार हुने निर्देशक न्यौपानेले बताए । 

    स्वदेशी उत्पादनको बजार विस्तार गर्न राज्यले क्यान मसरुमलगायतका अन्य मसरुमको आयातमा कडाइ गर्नुपर्ने उनको भनाइ छ । 

    प्रतिकेजी कति पर्छ ? 

    यो च्याउ उत्पादनका लागि काठको धुलो, चिनी मिलबाट निस्कने बकास, मकैको खोया, मकैको पिठो, पिना, चोकर र गहुँको पिठोलगायतका कच्चापदार्थको प्रयोग हुन्छ । यसर्थ, यो च्याउ पूर्ण रूपमा अर्गानिक रहेको छ । 

    धेरै किसिमका परिकार बनाउन सकिने भएकोले घरमा, होटलमा, पार्टी प्यालेसहरूमा र विभिन्न कार्यक्रममा मासु तथा पनिरको विकल्प यो च्याउ बन्न सक्छ ।

    कम्पनीले राजा च्याउको न्यूनतम् मूल्य २८० रुपैयाँ तोकेको छ भने खुद्रा मूल्य ३२० रुपैयाँ तोकेको छ । करिब ६/७ महिनासम्म यो च्याउको मूल्य परिवर्तन नहुने निर्देशक न्यौपानेले बताए । 

    किन किन्ने किङ्ग ओइस्टर च्याउ ?

    यो च्याउको सेवनले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि सहयोग पु-याउँदछ । एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्त्व प्राप्त गर्न, मधुमेह, मुटु तथा निश्चित ट्युमर विरामीहरूको लागि उपयुक्त मानिएको यो च्याउको सेवनले मोटोपन घटाउन पनि सहयोग पुग्ने उनको भनाइ छ । 

    लामो समयसम्म भण्डारण गर्न सकिने, ब्रेस्ट र प्रोस्टेट क्यान्सरबाट बचाउन सहयोग पुर्याउने यो च्याउलाई च्याउहरूको राजा मानिन्छ । 

    स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आयातमा कडाइ गर्नुपर्छ 

    मुलुकमै केही गर्ने सोचका साथ आफूहरू डटिरहेको भए पनि राज्यका निकायले सहयोग नगरेको उनको गुनासो छ । सरकोकारवाला निकायले उत्पादनसहित बजारमा कसरी जान सकिन्छ भनेर रोडम्याप बनाइदिए आफूहरू उत्साहित हुने उनले बताए । बजारका कारण पूर्ण रूपमा उत्पादन गर्न नसकेको उनी बताउँछन् । 

    उनका अनुसार सबै फाइभस्टार, स्टार होटल, पार्टी प्यालेसहरूमा नेपाली उत्पादन प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । राज्यले क्यान मसरुमको विकल्प नेपाली उत्पादन तयार भएको छ भन्ने हिसाबले भन्सार कडाइ गर्नुपर्छ । 

    उनले भने, “सबै फाइभस्टार, स्टार होटल, पार्टी प्यालेसहरूमा नेपाली उत्पादन प्रयोग गर्ने वातावरण बनाउनुपर्छ । राज्यले क्यान मसरुमको विकल्प नेपाली उत्पादन तयार भएको छ भन्ने हिसाबले भन्सार कडाइ गर्नुपर्छ ।” माग बढे उत्पादन बढाउन सकिने उनले जानकारी दिए । 

    स्वदेशी कच्चा पदार्थबाट उत्पादित यो च्याउ उपभोग गर्न जोड दिँदै निर्देशक न्यौपाने भन्छन्, “नेपाली बनौँ, नेपाली भनौँ, सम्हालौँ नेपाल ।”

    मसरुम रिसर्च सेन्टर आवश्यक 

    उद्योगबाट निस्कने फोहोरलाई कम्पोस्ट मल बनाउने कम्पनीको योजना छ । त्यस्तै, मसरुम रिसर्च सेन्टरको पनि आवश्यकता उनले महसुस गरेका छन् । 

    कोभिडलगायतका कारणले यसका लागि छुट्याएको बजेट पनि उद्योगमा लगाउनु परेपछि अन्यत्र लगानी गर्न नसकेको निर्देशक न्यौपानेले बताए । राज्यले कम्पोस्ट मल बनाउन र मसरुम रिसर्च सेन्टर स्थापनाका लागि सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । 

    लगानी उठाउन समस्या 

    वास्तविक किसानलाई मुनाफा उठाउनु निकै समस्या छ । बैङ्कको किस्ता तिर्ने कठिन हुने निर्देशक न्यौपानेको अनुभव छ । खर्च चलाउन समस्या भइरहेको र लगानी तथा खर्चअनुसार उत्पादन र बजारीकरण हुन नसकेको उनी बताउँछन् । 

    “कृषि भनेको सेवामुखी मात्रै भइसक्यो । कम मुनाफा कमाउने र उपभोक्तालाई अर्गानिक खुवाउने काम हो यो । अरू व्यवसाय पनि सँगसँगै गर्ने र अन्तबाट पनि हामी बाँच्न सक्ने भयौँ भने कृषिमा लगानी गर्दा राहत मिल्छ”, उनले भने । 

    सबै यो क्षेत्रमा लगानी गरेर कृषिबाटै आम्दानी गर्छु भन्ने मान्छेलाई नेपालमा गाह्रो भएको र औद्योगिक ऐनले मुलुक चलेको उनको भनाइ छ । प्रशस्त मुनाफा आर्जन गर्न नसके पनि कृषिमा लगानी गरेकोमा आफूलाई पछुतो नभएको न्यौपानेले बताए । 

    पूर्वाधारसहितको ठुलो लगानी गरेकोमा गर्व लागेको बताउने उनी राज्यबाट अनुदान वा सहयोग पाएमा यसमै लगानी गर्ने योजना रहेको बताउँछन् । उनका अनुसार किसानको समस्या समाधान गर्न ‘वान म्यान, वान डोर, वान डे’ नारा लागु हुनुपर्छ । अर्थात, एउटै ढोका र एउटै मान्छेबाट २४ घण्टाभित्र किसानको समस्या समाधान हुनुपर्छ । यो नारा लागु नभएसम्म कृषि अभियान सफल नहुने उनको दावी छ । 

    Screenshot 2024-02-27 185117.jpg

    सुझाव 

    मुलुक आयात प्रधान हुँदा नेपालमा प्रकृतिले दिएको कृषि पेसा सङ्कटमा पुग्ने अवस्था रहेको निर्देशक न्यौपानेले बताए । अरु व्यवसाय गरे पनि आयआर्जनको हिसबले, रोजगारी सिर्जना गर्ने हिसाबले कृषिलाई अघि बढाउनुपर्छ भने ठुलो लगानी गरेको उनको भनाइ छ ।

    कृषिमा सम्भावना देखे पनि नतिजामा परिणत गर्न नसक्नुमा राज्यको नीतिको प्रमुख भुमिका रहेको उनले बताए । कृषिमा मुनाफा कमाउन नसक्दा र लगानी नै सङ्कटमा परेका कारण किसानहरू पलायन भइरहेको अवस्थामा आफूहरूले चुनौति मोलेर ठुलो लगानी गरेको निर्देशक न्यौपाने बताउँछन् । 

    उनका अनुसार जुन चिज पनि विदेशी गुणस्तर हो अथवा विदेशी हो भनेपछि मात्रै बजारमा बिक्छ । यसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सकिदैन । सबै यो क्षेत्रमा लगानी गरेर कृषिबाटै आम्दानी गर्छु भन्ने मान्छेलाई नेपालमा गाह्रो छ । 

    औद्योगिक ऐनले मुलुक चलेको छ । कृषि ऐन छ । कृषिमा सम्भावना छ । जुन चिज पनि विदेशी गुणस्तर हो अथवा विदेशी हो भनेपछि मात्रै बजारमा बिक्छ । यसले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सकिदैन । 

    अत्याधुनिक प्रविधिद्वारा उत्पादित यो च्याउ स्वस्थकर भएको र विभिन्न परिकार बनाइ स्वाद लिन सकिने भएको स्वदेशी उत्पादनलाई प्राथमिकताका साथ खरिद गर्न उपभोक्तालाई उनको आग्रह छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार