images
images

सत्ता समिकरण फेरबदलको प्रभाव नेप्सेमा : एक दिन पनि टिकेन उत्साह, अब कता जाला बजार ?

सत्ता समिकरण फेरबदलको प्रभाव नेप्सेमा : एक दिन पनि टिकेन उत्साह, अब कता जाला बजार ?

पछिल्लो समय कर्जाको ब्याजदर ओरालो लागिरहेको भए पनि सेयर बजार उकालो लाग्न नसक्नुलाई अर्थमन्त्री नै पुँजीबजारमैत्री हुन नसकेको लगानीकर्ताको बुझाइ थियो।

मंगलवार, फागुन २२ २०८०
मंगलवार, फागुन २२ २०८०
  • सत्ता समिकरण फेरबदलको प्रभाव नेप्सेमा : एक दिन पनि टिकेन उत्साह, अब कता जाला बजार ?

    काठमाडौँ / सत्ता समिकरण फेरबदलको प्रभाव सेयर बजारमा देखिएको छ । सत्ता गठबन्धन फेरिएसँगै नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाका कारण बढेको बजार आज ७०.३१ अङ्कले घटेको हो । 

    images
    images

    सोमबार उच्च अङ्कले बढेका कारण तीन पटक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा मङ्गलबार भने उच्च गिरावट आएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार ४ प्रतिशतले बजार बढेपछि पहिलो पटकका लागि २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

    त्यसपछि खुलेको बजारमा परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो पटक पुनः ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यसपछि पुनःकारोबार सुरु भएको नेप्से परिसूचकमा ६ प्रतिशतको वृद्धि भएपछि कारोबार नै स्थगित भएको थियो । 

    सोमबार कारोबार भएको समयमा नेप्से परिसूचक ११७.७० अङ्कले उकालो लागेर २ हजार ७८ मा पुगेको थियो भने २ सय ३७ कम्पनीको ९  लाख ३४ हजार ९ सय १९ कित्ता सेयर ३७ करोड ५२ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    नेप्से परिसूचक ३.३८ प्रतिशतले घटेर २ हजार ७.६९ बिन्दुमा झरेको भए पनि आज कारोबार रकम भने बृद्धि भएको छ । आज ३१६ ओटा कम्पनीको एक करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको छ । 

    नेप्से बढेपछि सोमबार बजार पुँजीकरण रकम ३० खर्ब ८१ अर्ब ३३ करोड ६१ लाख रुपैयाँबाट बढेर ३२ खर्ब ६६ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो । नेप्से घटेसँगै आज बजार पुँजीकरण रकम घटेर ३१ खर्ब १५ अर्ब ५८ करोड रुपैयाँमा झरेको छ । 
     
    मंगलवार सेन्सेटिभ इन्डेक्स ३.२४ प्रतिशत, फ्लोट इन्डेक्स ३.३७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.२८ प्रतिशत  घटेको छ । 

    कारोबारमा आएका कम्पनीमध्ये मङ्गलबार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.७३ प्रतिशत वृद्धि भएर ९९५ रुपैयाँ कायम भएको छ । 

    सेयर मूल्य सर्वाधिक बढ्नेमा दोस्रोमा ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ रहेको छ । उक्त धितोपत्रको इकाई मूल्य ७.८५ प्रतिशत बढेर ८.६६ पुगेको हो । 

    यता, सर्वाधिक बढी गुमाउनेमा बोटलर्स नेपाल बालाजुका लगानीकर्ताहरू रहेका छन् । 

    सो कम्पनीका लगानीकर्ताहरूले अघिल्लो दिनको तुलनामा १० प्रतिशतले गुमाएका हुन् । मूल्य घटेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार ९६२ रुपैयाँ कायम भएको छ । 

    यो दिन सर्वाधिक सेयर खरीदविक्री गर्ने कम्पनीमध्ये सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड पहिलो स्थानमा र शिवम् सिमेन्ट दोस्रो स्थानमा रहेको छ । यो कम्पनीको ४१ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको हो । 

    त्यस्तै,आज शिवम् सिमेन्ट्सको २४ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    मङ्गलबार कारोबारमा आएका १३ समूहगत परिसूचकहरूमध्ये म्युचअल फण्डको सूचक ०.६६ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । 

    अन्य समूहको परिसूचक सबैभन्दा बढी ४.३५ प्रतिशतले घटेको छ ।

    त्यस्तै हाइड्रोपावर समूहको परिसूचक ४.३० प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ३.६९ प्रतिशत घटेको छ ।

    किन घट्यो बजार ?  

    नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाका कारण सोमबार बजार ३ पटकसम्म सर्किट ब्रेकर लागेपछि बजार बन्द भएको थियो । पौडेल अर्थमन्त्री नबन्ने समाचार आएपछि भने मङ्गलवार सेयर बजारमा उच्च गिरावट आएको सेयर विश्लेषक मुक्ति अर्यालले बताए ।

    राजनीतिक अस्थिरताका कारण आगामी दिनमा बजार कता जाला भन्ने अनुमान गर्न नसकिने उनको भनाइ छ । 

    लगानीकर्ताहरू सेयर बजारअनुकुल अर्थमन्त्री चाहान्छन् । पुँजी बजारअनुकुल अर्थमन्त्री आउने सङ्केत पाउनेबित्तिकै उक्लिने बजार त्यसको उल्टो सङ्केत पाएमा घट्ने गरेको छ । सोमबार र मङ्गलबारको बजारले पनि यो कुरालाई पुष्टि गरेको छ । 

    गणतन्त्र आएदेखि हालसम्मको अवस्थालाई हेर्ने हो भने २०६८ सालमा नेप्से परिसूचक सबैभन्दा न्यून २९१ बिन्दुमा झरेको थियो । त्यो समय माओवादीका बर्षमान पुन अर्थमन्त्री थिए । नेप्सेको न्यून बिन्दुको त्यो रेकर्ड हालसम्म पनि कायमै छ । त्यसताका माओवादीले पहिलो पटक सरकारको नेतृत्व गरेको थियो भने अर्थमन्त्रालय सम्हालेका तत्कालीन अर्थमन्त्री पुनप्रति लगानीकर्ताले भरोसा नगरेको देखिन्छ । 

    त्यस्तै, पछिल्लो केही बर्षहरूमा एमाले नेता विष्णु पौडेल सत्तामा आउँदा सेयर बजारले सकारात्मक लय समात्ने गरेको देखिन्छ । पौडल पुँजीबजारमैत्री मानिन्छन् । यसअघि उनी तीन पटक अर्थमन्त्री भइसकेका छन् ।

    २०७२ सालमा उनी पहिलो पटक अर्थमन्त्री हुँदा तत्कालिन समयमा नेप्सेले ऐतिहासिक उचाई कायम गरेको थियो । त्यो समय नेप्से परिसूचक १ हजार ८८१ बिन्दुमा पुगेको थियो । 

    त्यसपछि २०७८ सालमा पौडेल अर्थमन्त्री रहँदा सेयर बजारले नयाँ उचाइ बनाएको थियो । गत भदौ २ गते नेप्से परिसूचकले ३ हजार २२६ बिन्दु कायम गरेर अर्को ऐतिहासिक रेकर्ड कायम गर्यो । 

    यद्यपि, त्यो समय एमाले सत्ताबाट बाहिरिएको ३५ दिन पनि पुगेको थिएन । त्यो समयमा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
     
    २०७९ पुस ११ मा पौडेल अर्थमन्त्री भएसँगै सेयर बजारमा पुनः उछाल आएको थियो। त्यसबेला नेप्से परिसूचक ५६.८६ अङ्कले बृद्धि भएको थियो । 

    गठबन्धन फेरिएपछि उनले दुई महिनामै मन्त्रालयको जिम्मेवारीबाट हात धुनु परेको थियो । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले २०७९ चैत १७ गते मन्त्रालयको जिम्मेवारी लिएका थिए । 

    उनको ११ महिने कार्यकालमा नेप्से परिसूचक २ हजार २४२ बिन्दुसम्म उक्लियो तर, लगानीकर्ता उत्साहित भएनन् । लगानीकर्ताहरूको दबावमा उनले आफ्नो कार्यकालमा मौद्रिक नीतिमा सेयर धितो कर्जाको क्याप बढाए पनि नेप्सेमा उत्साह देखिएन । 

    पछिल्लो समय कर्जाको ब्याजदर ओरालो लागिरहेको भए पनि सेयर बजार उकालो लाग्न नसक्नुलाई अर्थमन्त्री नै पुँजीबजारमैत्री हुन नसकेको लगानीकर्ताको बुझाइ थियो। 

    आइतबार साँझदेखि सत्तागठबन्धन फेरिने चर्चासँगै अर्थमन्त्रीमा पौडेल आउने हल्लाले नै बजारमा उछाल आएको लगानीकर्ताहरूको भनाइ छ । सेयर बजारमा राजनीतिक घटनाक्रमले निकै ठुलो महत्त्व राख्ने विश्लेषक अर्याल बताउँछन् ।

    सेयर बजारमैत्री अर्थमन्त्री पाउने हल्लाले सोमबार बजार बढेको भए पनि उक्त हल्लामा सत्यता नभएको आशंकाले मङ्गलबार बजार ओरालो लागेको उनको भनाइ छ । उनी भन्छन्, “पोलिटिकल सिनारियो क्लियर हुनुपर्छ । जबसम्म अर्थमन्त्री टुङ्गो लाग्दैन तबसम्म बजार कता जान्छ भन्न सकिदैन । बजारले चाहेको अर्थमन्त्री आए बढ्छ र नआए घट्छ । नयाँ अर्थमन्त्री को आउँछन् सोही अनुसार बजारले आफ्नो गति समात्छ ।”

    लामो समयदेखि आरोह अवरोह झेलिरहेको बजारले पौडेल अर्थमन्त्री बन्ने हल्लाले बढेको भए पनि उक्त हल्ला साँचो नभएको आशंकाले मङ्गलबार पुनः घटेको देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार