images
images

एक बर्षमा २९ हजारले महँगियो सुन, अझैँ कति पुग्ला ?

एक बर्षमा २९ हजारले महँगियो सुन, अझैँ कति पुग्ला ?

विगत लामो समयदेखि एकपछि अर्को रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको हो ।

शुक्रवार, चैत ३० २०८०
शुक्रवार, चैत ३० २०८०
  • एक बर्षमा २९ हजारले महँगियो सुन, अझैँ कति पुग्ला ?

    काठमाडौँ / विश्वव्यापी रुपमै सुनको मूल्यमा दैनिक उतारचढाव आइरहन्छ । विश्वव्यापी ट्रेन्डअनुसार नेपालमा पनि पहेलो धातु सुनको मूल्य दैनिक तय हुने गरेको छ । 

    images
    images

    जसअनुसार नेपाली बजारमा पछिल्लो १ बर्षको अवधिमा सुनको मूल्य २६.३६ प्रतिशतले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसुची अनुसार २०८० को पहिलो कारोबारको दिन अर्थात बैशाख ३ गते सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । 

    तर, आज २०८० को अन्तिम कारोबारको दिन अर्थात चैत ३० गते सुनको मूल्य प्रतितोला २९ हजार रुपैयाँले बढेर एक लाख ३९ हजार रुपैयाँमा कारोकार हुने भएको छ । विगत लामो समयदेखि एकपछि अर्को रेकर्ड कायम गर्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै महँगोमा कारोबार भइरहेको हो ।

    चैतको २८ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भई हालसम्मकै उच्च मूल्य कायम भएको थियो । तर, आज शुक्रबार एकै पटक सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

    किन बढीरहेको छ सुनको मूल्य ? 

    महासंघले सुनचाँदीको कारोबार मूल्य अन्तरराष्ट्रिय बजार मूल्यको आधारमा निर्धारण हुने गरेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य भने लण्डनस्थित ‘बुलन मार्केट एसोसियसन’ नामक संस्थाको अनलाइन प्लेटफर्मबाट हुने कारोबारको आधारमा निर्धारण हुने गर्दछ । सुनमात्रै नभई अन्य बहुमूल्य धातुको मूल्य पनि यसै बजारको आधारमा तय हुने गर्दछ ।

    पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगानीका मुख्य क्षेत्र अमेरिकी डलर र पेट्रोलियम पदार्थका तुलनामा सुन नै सबैभन्दा सुरक्षित र प्रतिफल योग्य ठानिएकाले यसको मूल्य लगातार बढ्दो क्रममा देखिएको छ । त्यस्तै, नेपालले डलरको आधारमा विदेशी राष्ट्रसँग व्यापार गर्ने गर्दछ । जसले गर्दा डलरको मूल्य बढ्दा सुनको मूल्य स्वतः प्रभावित हुन्छ ।

    यद्यपि, डलरको मूल्य बढ्दा नेपालको अर्थतन्त्र प्रभावित भए पनि विश्व बजारमा पछिल्लो समय डलरको विश्वसनीयता कम भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । 

    विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरू ब्राजिल, रसिया, इन्डिया, चाइना, साउथ अफ्रिकालगायतका देशहरूले खडा गरेको ब्रिक्स समूहले डलरको विकल्पमा नयाँ मुद्रा जारी गर्ने चर्चालेसमेत सुनको मूल्य वृद्धि हुनुमा भूमिका खेलेको उनको भनाइ छ ।

    अध्यक्ष शाक्यले भने, “यसले सुनको विकल्पमा ग्यारेन्टी भएको नोट प्रचलनमा ल्याउनुपर्छ भनेर नयाँ मुदाको सुरुवात गर्दै छ । विश्व बजारमा डलरको विकल्पको खोजी भइरहेको छ । डलर अहिले कागजी रूपमा मात्रै छ । युक्रेन–रुस युद्ध, प्यालेसटाइन–इजरायलको युद्धमा भूमिका देखिएसँगै डलरको विश्वनीयतामा कमि आइरहेको छ ।” डलरको विकल्पमा नयाँ मुद्रा सुनको ग्यारेन्टीको रूपमा राख्ने भएपछि यसले सुनको मागसँगै मूल्यमा दबाव परेको उनले बताए । 

    “यसले सुनको भाउमा प्रेसर बढेको छ । डलर नेपालको सन्दर्भमा महँगो भए पनि विश्व बजारमा यसको विश्वसनीयतामा कमि आएको छ । अमेरिकाले तिर्नुपर्ने ऋण तिर्न नसकेर डिफल्ड गर्ला कि भन्ने विश्व बजारमा शंका गरिएको छ । ठुला अर्थतन्त्र भएका मुलुकहरूले डलरलाई विश्वास गर्न छोडेका छन्,” उनले भने । 

    अमेरिकामा ब्याजदर वृद्धि रोक्ने अनुमानका कारण सुनको भाउ वृद्धि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तै, २०२४ मा विश्वव्यापी मन्दीको डर, बढ्दो मूल्यवृद्धि र विश्वभरका केन्द्रीय बैङ्कहरूले सञ्चितीका लागि सुन खरिद गर्दा मूल्य प्रभावित भएको हो ।

    एक तोला सुनको गहना बनाउन करिब १ लाख ६० हजार रुपैयाँ खर्च गर्नुपर्ने ! 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पर्नेछ । यो ज्याला र जर्ती बाहेकको मूल्य हो । यसमा ज्याला र जर्तीको खर्च जोड्दा सुनको भाउ प्रतितोला करिब १ लाख ६० हजार रुपैयाँ पुग्नेछ । 

    सामान्यतयाः सुन पसलेहरूले गरगहनामा १० प्रतिशत जर्ती राख्ने गरेका छन् । पुराना गहनालाई नयाँ बनाउँदा भने यो खेर जाने व्यवसायीहरू बताउँछन् । त्यस्तै, १० प्रतिशत जर्ती र ५ प्रतिशत ज्यालाको पैसा थप लाग्ने उनीहरूको भनाइ छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष शाक्यले सुनको मूल्यमा ज्याला र जर्तीको खर्च औसतमा १५ प्रतिशत लाग्ने बताए । 

    “सामान्य, सादा डिजाइनको गरहगना बनाउने हो भने ज्याला र जर्तीको मूल्य ५/६ प्रतिशत पनि पर्छ । तर, अहिले विभिन्न डिजाइनको गरगहना लगाउने प्रचलन छ । सामान्य डिजाइन खासै रुचाइदैन । त्यसैले सुनको मूल्यको १५ प्रतिशत ज्याला र जर्तीको मूल्य जोडिन्छ” उनले भने, “अझै हिरा ज्वारा आदि जोड्ने भने १५ प्रतिशतभन्दा बढी लाग्छ ।”

    सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक उनको भनाइ छ । 

    अझै कति बढ्ला ? 

    अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस २३ हजार ९६ डलरमा कारोबार हुँदैछ । अब यो मूल्य बढेर ३ हजार डलर पुग्ने अनुमान गरिएको छ । सुनको तौल प्रतिऔँस बराबर ३१.१ ग्राम  हुन्छ । सुनबाहेक अन्य वस्तुमा भने प्रतिऔँस बराबर २८.३४ ग्रामले हिसाब गरिन्छ ।

    त्यस्तै, प्रतितोला सुन ११.६६४ ग्राम बराबर हुन्छ ।  अहिले डलरको बिनिमयदर एक सय ३२ रुपैयाँ ८० पैसा छ । यदी, सुनको मूल्य प्रतिऔँश ३ हजार डलर पुगेमा नेपालमा नेपालमा प्रतिऔँस सुनको करिब ४ लाख रुपैयाँ पर्न आउँछ । जसअनुसार एक तोला सुनको भाउ प्रतितोला डेढ लाख रुपैयाँभन्दा बढी पर्ने देखिन्छ । 

    अन्तर्राष्ट्रिय बजारमा हुने सुनको मूल्य निर्धारणले नै नेपाली बजारमा पनि मूल्य तोकिन्छ । नेपाली बजारको मागले मूल्यमा खासै भूमिका खेल्दैन । नेपालमा रहेका सुनचाँदी व्यवसायी महासङ्घहरूले जुन दिन सुनको मूल्य तोक्ने हो, सोही दिन ११ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यलाई आधार लिन्छन् ।

    सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको थियो । १५ प्रतिशत राजस्व र बैङ्कको ब्याजदरलगायतको खर्च गरी अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालमा सुनको मूल्य झण्डै १८ प्रतिशत बढी रहेको छ । यसकारण अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा सुनको मूल्य उच्च हुने गरेको छ । अहिले नेपाल राष्ट्र बैङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।

    चाँदीको पनि बढ्यो ! 

    यता सुनसँगै नेपाली बजारमा चाँदीको मूल्य पनि बढीरहेको छ । बर्षको पहिलो कारोबारको दिन प्रतितोला एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज अन्तिम कारोबारको दिन प्रतितोला एक हजार ७ सय ५० रुपैयाँले बढेको छ । एक बर्षको अवधीमा चाादीको मुल्य पनि २०.६९ प्रतिशतले बढेको देखिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार